Delivery in 1-3 days
लेखक राम प्रसाद कोईरालाको जन्म वि.सं. २०१० साल चैत २२ गते (सन् १९५४ अप्रिल) काठमाडौमा भएको हो । उहाँको बाल्यकाल भने पाल्पाको रमणीय परिवेशमा बित्यो । सानै उमेरदेखि उहाँ आफ्नी हजुरआमाको माया, स्नेह र संरक्षणमा हुर्कनुभयो । दुर्भाग्यवश, बाल्यकालमै उहाँको आफ्नी जन्मदिने आमासँग छुट्टिनु परेको थियो । पेसाले इन्जिनियरको रूपमा राम प्रसाद कोईरालाले सन् १९८० देखि १९८२ सम्म खानेपानी तथा सरसफाइ क्षेत्रको विशेषज्ञका रूपमा नेपाल सरकारको सेवा गर्नुभयो । सन् १९८२ देखि १९८४ सम्म उहाँले लाओसमा संयुक्त राष्ट्रसंघीय स्वयंसेवकका रूपमा र त्यसपश्चात् उहाँले करिब तीन दशक लामो - भियतनाम (१९८४-१९८८), इन्डोनेसिया ( १९८८-२०००), टिमोर लेस्टे (२०००-२००३), एरिट्रिया (२००३-२००८), र अन्त्यमा सुडान (२००८-२०१४) - मा पुगेर कार्य गर्नुभयो ।
युनिसेफमा कार्यरत रहँदा उहाँलाई आफ्नो बाल्यकालमा प्यारी हजुरआमाबाट प्राप्त प्रेरणादायी शिक्षाहरू युनिसेफको विश्वव्यापी बाल बिकास तथा संरक्षण विशेष गरी खानेपानी तथा सरसफाइसँग दुरूस्तै मेल खाने रहेछन् भन्ने गहिरो अनुभूति गर्नुभयो । सेवानिवृत्त भएपछि उहाँले आफ्नो जीवनको यो यात्रा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सकोस् भन्ने विश्वासका साथ सार्वजनिक गर्ने निर्णय गर्नुभयो । यही क्रममा सन् २०२२ मा उहाँले 'मेरी उनी र म' नामक पहिलो संस्मरण प्रकाशित गर्नुभयो । जसमा उहाँको व्यक्तिगत र व्यावसायिक जीवनमा हजुरआमाको प्रभावको वर्णन गरिएको छ ।
पहिलो संस्मरणको प्रकाशनपछि आफ्नी सानिमा मार्फत उहाँले आफ्नी आमाको जीवनसँग जोडिएको दुःखद यथार्थहरु जसमा उहाँकी आमाले अविश्वासको आरोप खेप्नुपरेको, आफूले नगरेको अपराधका लागि दुई वर्षको जेल सजाय भोग्नुपरेको तथा निर्मम परिस्थितिले सिर्जना गरेका अनेक हृदयविदारक घटनाहरूको एक पछि अर्को गर्दै पत्ता लगाउँनु भयो । 'मेरी उनी र म' मार्फत लेखकले आफ्नी आमाबिनाको आफ्नो बाल्यकाल, हजुरआमाको ममता, आमाको विवशता र उहाँको जीवनसँग गाँसिएका तर लामो समयसम्म अज्ञात रहेका कठिन घटनाहरूलाई पुनः स्मरण गर्नुभएको छ ।
यो कुनै काल्पनिक कथा होइन, सत्य घटनामा आधारित एक अत्यन्त मार्मिक जीवन कथा हो । जसले अनेक कठिन परिस्थितिमा आमा, सन्तान र हजुरआमाबिचको अदृश्य र अटुट प्रेमसम्बन्धलाई उजागर गर्दछ । आफ्नै जीवनसङ्घर्षको पृष्ठभूमिमा उभिएर लेखकले आफ्ना सन्तानहरूको जीवनलाई पनि आत्मीयतापूर्वक नियाल्नुभएको छ । उहाँकी छोरी अपर्णा बाल्यकालदेखि नै कानले सुन्न नसक्ने हुनुहुन्छ । अपर्णालाई सम्भव भए सम्मका उत्कृष्ट अवसरहरु प्रदान गर्ने उद्देश्यले लेखक हाल परिवारसहित अस्ट्रेलियाको सिडनीमा बस्दै आउनु भएको छ।
लेखक कोईरालालाई यात्रा गर्न, संगीत सुन्न र साथीभाइ तथा सहकर्मीहरुसँग भेटघाट गर्न असाध्यै मनपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँ आफ्नो परिवारसँग समय बिताउन र आफ्ना नातिनातिनाहरुसँग रमाउन औधी मन पराउनु हुन्छ ।
Your review helps others make informed decisions
Click on a star to start your review