बेलायत निवासी डायोस्पोरिक साहित्यकार कृष्ण बजगाईले तेह्रौं कृतिको रुपमा ‘संवैधानिक पत्नी’ लघुकथासङ्ग्रह बजारमा ल्याएका छन् । उक्त लघुकथासङ्ग्रह विवेक सिर्जनशील प्रकाशन प्रा.लि. काठमाण्डौंले प्रकाशित गरेको हो । नियात्रा, कथा लगायतका विभिन्न विधामा कलम चलाउने बजगाईंको संवैधानिक पत्नी चौथो लघुकथासङ्ग्रह हो ।
संवैधानिक पत्नीमा नेपाली तथा डायोस्पोरिक जीवन र समाजको भोगाईको जीवन्त प्रतिबिम्ब छ । कथा मार्फत नेपालको सामाजिक, राजनीतिक, आर्थिक, प्रशासनिक, प्रेम र यौनमा देखिने गरेको संगतिहिनताप्रति तीब्र व्यंग्य गरेका छन् । कौतुहलमय शैली, रोचक, घोचक, तीब्र र रहश्यमय पटाक्षेपका कारण कथाहरु आस्वाद्य बनेका छन् ।
बेल्जियम र बेलायतमा लामो समय बिताएका बजगाईं साहित्य सिर्जना, प्रकाशन र साहित्यिक संघसंस्थाहरुमा सक्रिय छन् । समकालीन साहित्य प्रतिष्ठान बेलायतका संस्थापक अध्यक्ष रहेका बजगाईं विगत १४ वर्षदेखि समकालीन साहित्य डट कम नामक वेव पत्रिकाको सम्पादन तथा प्रकाशन गर्दै आएका छन् । उनी बेलायतबाट प्रकाशित हुने नेपाली भाषाको अन्तर्राष्ट्रिय साहित्यिक जर्नल ‘प्रवासन’का प्रधान सम्पादक हुन् ।