राजेन्द्र थापाको उपन्यास ‘शकुनी’ आउँदै

 चर्चित उपन्यासकार राजेन्द्र थापाले महाभारतको सबैभन्दा विवादास्पद एवं सीमान्तकृत शकुनीलाई मूलपात्र बनाएर नयाँ उपन्यास ल्याउने भएका छन् । शकुनीकै कुटिल आँखाबाट लेखिएको अनुसन्धानमूलक उपन्यास ‘शकुनी’ असारभित्रै बजारमा ल्याउने प्रकाशक इन्डिगो इन्कले जनाएको छ । 

लेखक थापाले उपन्यासमा महाभारतका ५ हजार ६ सय ८८ वर्षअघिका मूल घटनाहरु व्यासग्रन्थ र मिथकबाटै एकत्रित गरिएको बताए । ‘ती घटनाहरूलाई विज्ञान र मनोविज्ञानको मदानीमा मथेँ र नौनी प्रस्तुत गरेँ । उपन्यासले विभिन्न विवादास्पद मुद्दाहरूलाई आधुनिक सीमान्तकृतका आँखाबाट पुनर्लेखन गरेको छ,’ सञ्चारकर्मीको जिज्ञासामा थापाले भने, ‘उपन्यासले श्रीकृष्णको हस्तिनापुर आगमनका दिन शनिश्चरबार, २८ सेप्टेम्बर, ३०६७ बीसी अष्टमी, पुनर्वशु नक्षत्रदेखि शकुनी वधको युद्धको सत्रौँ दिन आइतबार ८ डिसेम्बर, शुक्लपक्ष चतुर्थी, सतविशा नक्षत्रसम्मको बहत्तर दिनसम्मको अवधि समेटेको छ ।’ 

उपन्यासकार थापाका अनुसार ‘शकुनी’ महाभारतको कथावाचन, पुनःलेखन या सङ्क्षिप्तीकरण होइन । बरु सभ्यता संहारक युद्धका कारणका निष्पक्ष खोजतलास र सुनुवाइ, सीमान्तकृत बनाइएको शकुनीकै कुचीबाट शकुनीकै क्यानभासमा उतारेर पाठकलाई न्यायाधीश बनी फैसला गर्न छाडिएको एक मुद्दा फाइल हो । 
पोहोर साल खुसी फाट्दा... जस्ता कालजयी गीतका सर्जक थापाका द्रौपदी, खेलौना उपन्यास तथा बदलेको कथा र फिर्ता चाहियो कथासंग्रह पाठकले निकै रुचाइसकेका छन् ।

सौजन्य: इन्डिगो इन्कको फेसबुकबाट साभार