'न्यायपालिकामा चार दशक' बजारमा

पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीको संस्मरणात्मक कृति 'न्यायपालिकामा चार दशक : मेरा सम्झना' आजदेखि बजारमा आएको छ । न्यायपालिकामा चार दशक बिताउनुभएका रायमाझी २०६६/०१/२५ देखि २०६६/०८/२८ सम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुनुभएको थियो । 'मेरा अनुभव खुला रुपमा मैले पुस्तकमा राखिसकेको छु । अब यो सार्वजनिक सम्पत्ति भएको छ र आफ्ना प्रतिक्रिया जनाउन सबै स्वतन्त्र हुनुहुन्छ,' लेखक रायमाझीको भनाइ छ, 'न्याय क्षेत्रमा प्रवेश गर्न चाहने नयाँ पिँढीले पढिदिए मलाई विशेष खुसी हुनेछ । प्रकाशक साङ्ग्रिला बुक्सका मणि शर्मा भन्छन्- 'यो पुस्तक नेपालको न्यायिक इतिहासका भित्री पाटाहरुलाई चियाउने एउटा आँखीझ्याल हो ।'

न्याय सेवाको अधिकृत र जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदासम्मका चार दशकमा लेखकले भोगेका रोचक घटनाक्रम यसमा समेटिएका छन् । न्याय र कानुन सामान्यतः रुखो विषय मान्नेहरुले पनि घटना र प्रस्तुति शैलीका कारण आख्यानको स्वाद पाउनेछन् । यसमा संविधान, कानुन र न्यायमा हुने जालझेलको तथ्यपूर्ण विवरण छ । राजनीति र न्यायबीचको संघर्षका विविध आयाम छन् । न्यायालयभित्र र बाहिरका पात्र तथा प्रवृत्ति चिन्न यसले सघाउँछ । न्यायको रक्षाका खातिर एक कर्मठ न्यायकर्मीले गर्नुपर्ने साहस र त्यागका दृष्टान्त छन् । संविधान निर्माण, राजा ज्ञानेन्द्रद्वारा गठित भ्रष्टाचार नियन्त्रण शाही आयोग विघटनको फैसलालगायत नेपालको राजनीतिका महत्त्वपूर्ण घटनासँग जोडिएका रायमाझीको यो अनुभव राजनीतिक इतिहासको पनि अभिन्न अंग बन्नेछ । १४ भागमा विभाजित यस पुस्तक ४ सय १६ पृष्ठको छ र यसको मूल्य ६६६ रहेको छ ।