डा. सुधा शर्माको 'सिंहदरबारको घुम्ने मेच 'सार्वजनिक

डा. सुधा शर्माको संस्मरणात्मक कृति सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक भएको छ ।

डा. शर्मा योग्यताले प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् । उनले वि.सं. २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MoHP)अन्तरगत सचिवको कार्यभार सम्हालेकी थिइन् ।

डा सुधाको पुस्तकमाथि शुभकामना व्यक्त गर्दै पूर्व राष्ट्रपति रामवरण यादवले प्रतिक्रिया व्यक्त गरे "यो पुस्तकमा तपाईंले आफ्नो प्रशासनिक र डाक्टरी जीवनको सारा अनुभव संगालेर राखिदिनु भएको छ यसले आउने पुस्तालाई केही सिक्ने मौका दिन्छ ।" (भिडिओ हेर्नुहोस - https://www.youtube.com/watch?v=X_bmiy4ngGY 

यस पुस्तकमा शर्माको निजी साहस र सरकारी सेवामा रहेका सिमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन गरिएको छ जो २०६२-६३ को विद्रोहपछि निर्माण भएको सरकारका निम्तिसमेत चुनौतिपूर्ण रह्यो । जुन सरकारले महिलाहरूको समानुपातिक प्रतिनिधित्वलाई आफूले सर्वोच्च प्राथमिकतामा राखेको उद्घोष गर्थ्यो, त्यही सरकार सशक्त महिला नेतृत्व स्वीकार्नका निम्ति असहजता महसुस गर्ने रोगले ग्रस्त थियो । बुद्धि र व्यंग्यका साथ चनाखो पारामा लेखिएको यो पुस्तक त्यसबेलाका घटनाहरूको चाखलाग्दो दस्तावेज हो, जुन घटनाले २०६३ को विद्रोहलाई निम्त्यायो । साथै ‘नयाँ नेपाल’को समायोजनका क्रममा ब्यूरोक्रेसी भित्रको उबडखाबड बाटो हिंड्दाको अन्तरकथा पनि हो यो पुस्तक ।

‘डा. शर्माको पुस्तक एक महिलाको कथा हो, जसले पितृसत्ताको असक्षम संरचनामाथि उभिएको ऐनाको महललाई प्रहार गर्ने आँटको कथा बोकेको छ,’ नेपालय पब्लिकेसन्सका सम्पादक भूषिता वशिष्ठ भन्छिन्; 'यस पुस्तकले नेपालमा पहिचान र लिङ्गमाथि चल्ने छलफल बीच अर्थपूर्ण आयाम थप्नेछ ।

यो पुस्तक नेपालयले यसवर्षका निम्ति तय गरेको महिला शृङ्खला-२०२० अन्तरगतको अन्तिम प्रकाशन हो । यस अघि दुर्गा कार्कीको कुमारी प्रश्नहरू र भुवन ढुंगानाको परित्यक्ता सार्वजनिक भइसकेका छन् । ‘महामारी र बन्दाबन्दीका बीच हामी हाम्रा प्रकाशनलाई सुस्तरी तर निरन्तरताका साथ सार्वजनिक गरिरहेका छौं,’ नेपालय पब्लिकेसन्सका सीईओ सैजन मास्के भन्छिन्; ‘गत महिना हामीले हाम्रो पहिलो प्राइमरी ई-पुस्तक विमोचन गर्‍यौं; नेपाली पाठकहरूले सहज संचालन गर्नसक्ने प्लेटफर्महरूमा हाम्रा अघिल्ला प्रकाशनहरू अपलोड गर्दै अघि बढ्नु, डिजिटल पहुचलाई दुरुस्त पार्ने हाम्रो प्रयास हो । यसले कठिनाइका बीचमा पनि पुस्तक बजारलाई चलायमान राख्न मद्दत पुर्‍याउँछ भन्ने हाम्रो विश्वास छ ।’

रू. ४२५ मा उपलब्ध हुने ‘सिंहदरबारको घुम्ने मेच’ देशका प्रमुख पुस्तक पसलमा सहजै उपलब्ध हुनेछ ।

मोटो गातामा पुस्तकको मूल्य भने ५ सय ९५ रुपैयाँ राखिएको छ ।

पुस्तकलाई ई-बुकका रुपमा थुप्रै डट कम (www.thuprai.com) बाट किन्न सकिने छ साथै अमेजनमार्फत् विश्वव्यापी रुपमा उपलब्ध हुनेछ ।