Dor Bahadur Bista's 'Bhagyavad ra Bikas' Now in Nepali

वरिष्ठ मानवशास्त्री प्रा. डोरबहादुर विष्टको विश्वप्रसिद्ध कृति ‘फ्याटालिज्म् एण्ड डेभलपमेन्ट’ (Fatalism and Development) नेपाली भाषामा प्रकाशित भएको छ ।

वरिष्ठ पत्रकार वसन्त थापाले पुस्तकलाई नेपालीभाषामा अनुवाद गरेका हुन् । पुस्तकको नाम 'भाग्यवाद र विकास' राखिएको छ । विष्टको ९३औँ जन्मोत्सवको अवसरमा त्रिभुवन विश्वविद्यालय, मानशास्त्र तथा समाजशास्त्र केन्द्रीय विभाग र कर्णाली इन्स्टिच्यूटद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा वरिष्ठ मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठले पुस्तकको विमोचन गरेका हुन् ।
पुस्तकमा मुलुकको भू-राजनीतिक अवस्था, नेपालको विकासमा असर पार्ने समाजका सांस्कृतिक तथा सामाजिक सङ्गठनका आयाम, परिवारिक संरचना , यहाँका जात प्रथा र बाल्यकालको सामाजिकीकरण तथा मूल्य प्रणाली एवं व्यक्तित्वका तत्वहरु समेटिएका छन् ।

नेपालको राजनीति र सरकार, विदेशी सहायता शिक्षा क्षेत्र र विकासका बारेमा यथार्थपरक ढङ्गबाट विषयवस्तु प्रस्तुत गरिएको पुस्तक देशमा मात्र होइन विदेशमा पनि विकासका सुष्म र जटिल समस्याका कारक तत्व पहिचान गर्ने दिग्दर्शनका रुपमा ख्याति पाएको छ ।

कृतिका अनुवादक थापाले परिचयसहित आठ अध्यायमा समेटिएको कृतिको मूलभाव र भाषालाई सकेसम्म उस्तै ढङ्ग र शैलीमा अनुवाद गर्न निकै ठूलो प्रयास र जमर्काे गरिएको बताए । उनले भने, ‘उच्चस्तरको प्राज्ञिक भाषामा लेखिएको अनुसन्धनात्मक पुस्तक भएकाले यसको उल्था अखवारी लेख वा सामग्रीको जस्तो सजिलो थिएन ।’

आजभन्दा २५ वर्ष अघिदेखि कृतिको अनुवादको थालनी गरिएको भए पनि जुम्लाबाट मानवशास्त्री डोरबहादुर विष्ट काठमाडौँ फर्केने क्रममा भएको घटनाले प्रकाशनमा ढिलाइ हुन पुगेको सो अवसरमा जानकारी गराइएको थियो ।