विन्दा पाण्डेको 'समानताका पाइलाहरु' बजारमा

नेकपा नेतृ विन्दा पाण्डेको पुस्तक "समानताका पाइलाहरू: राजनीतिक आन्दोलनको महिलावादी विश्लेषण" अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसर पारेर फाइनप्रिन्टले  बजारमा आएको छ ।

लेखक पाण्डेले नेपाली राजनीतिमा महिला सशक्तीकरणको प्रकृति र प्रक्रियालाई महिलावादी दृष्टिकोणबाट हेर्ने जमर्को गरेको बताएकी छन् । ‘यस क्रममा मैले समग्रमा नेपाली लोकतान्त्रिक आन्दोलनमा महिलाको भूमिका नियालें । शताब्दी पार गरेको नेपाली महिला आन्दोलनको उकाली–ओराली विश्लेषण गर्दै महिला समानता प्राप्तिका विषयसँग जोडिएका अवरोध हटाउने उपाय खोज्ने प्रयत्न गरें । त्यसैको अभिलेख हो, ‘समानताका पाइलाहरू’’ उनले भनेकी छन् ।

पुस्तक प्रकाशन भएकोमा खुसी व्यक्त गर्दै पाण्डेले कोरोना भाइरसको संक्रमणका कारण ठूला भेला गर्न अनुपयुक्त भएकाले यस पुस्तकलाई विमोचन नगरीकन श्रमिक महिला दिवस पारेर बजारमा पठाउने निर्णय गरेको जानकारी दिनुभयो ।

पाण्डेका ‘नेपाली श्रमिक महिला आन्दोलनमा महिला सहभागिता’ (नेपाली र अङ्ग्रेजी), ‘आजका युवा विद्यार्थी–भोलिका दक्ष जनशक्ति’ र ‘विमेन इन नेपाली पोलिटिक्स’ कृति प्रकाशित छन् ।

Image Source: FinePrint